
काठमाडौं। राष्ट्रिय सभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले त्यसबारे स्पष्टीकरण दिएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै मन्त्री पुनले आफूलाई ‘अल्छी मन्त्री’ र ‘काम नगर्ने मन्त्री’ भन्दै आलोचना गरिएको बताएका छन्। उनले आफू बिहान ६ बजे उठेर ७ बजेदेखि राति ११ बजेसम्म मन्त्रालयमा काम गर्ने दाबी गरेका छन्।
उनले आफूले अहिलेसम्म कुनै छुट्टी नलिएको र आगामी दिनमा पनि छुट्टी नलिने बताएका छन्।
राष्ट्रिय सभा बैठकमा आफू झपक्क निदाएको भने उनले स्वीकार गरेका छन्। सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल बनाएर आलोचना गर्नेहरूप्रति उनले व्यङ्ग्यात्मक रूपमा धन्यवादसमेत दिएका छन्।
मन्त्री पुनका अनुसार राष्ट्रिय सभा बैठक सञ्चालन हुने हलमा एसीको व्यवस्था नभएकाले अत्यधिक गर्मी हुने गरेको छ। त्यही गर्मीका कारण बैठकमा बस्दाबस्दै आफ्नो आँखा झपक्क भएको उनको स्पष्टीकरण छ।
आफू ‘ढाँटेको होइन’ भन्दै पुनले बैठकमा केहीबेर निदाएको विषयलाई कामप्रतिको बेवास्ताका रूपमा नलिन आग्रह गरेका छन्।

























