
काठमाडौं । सरकारसँग १४ बुँदे सहमति भएपछि लघुवित्तका ऋणीहरू घर फर्किएका छन् । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर गर्दै आएको धर्ना स्थगित गरेर उनीहरु फर्किएका हुन् ।
नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच शनिबार भएको वार्तामा विभिन्न माग सम्बोधन गर्ने विषयमा १४ बुँदे सहमति भएपछि ऋणीहरूले आन्दोलन स्थगित गरेका छन् । सहमति भएसँगै लामो समयदेखि धर्नामा रहेका ऋणीहरू आइतबार बिहान आ–आफ्नो घर फर्किए ।
सरकारले उनीहरूलाई गन्तव्यसम्म पुर्याउन साझा यातायातका बसको व्यवस्था गरेको थियो । आइतबार बिहान ८ः५० बजे साझा यातायातको बसमा चढेर ऋणीहरू काठमाडौं उपत्यकाबाट आआफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
सरकारसँग भएको सहमतिलाई कार्यान्वयनका लागि अघि बढाइने भएपछि तत्कालका लागि धर्ना तथा आन्दोलनका कार्यक्रम स्थगित गरिएको उनीहरुले बताए ।



















