मलेसियामा श्रमिक पठाउनेबारे रोजगार व्यवसायीको आपत्ति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार १५:३५

काठमाडौं। मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टममा २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्था मात्रै आबद्ध गरी नेपाली श्रमिक पठाउने तयारीप्रति व्यवसायीले आपत्ति जनाएका छन्। यो तयारी भइरहेका बेला नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको हो।

नेपालमा कानुनी रूपमा इजाजतपत्र लिएर वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायीलाई समान अवसर र प्रतिस्पर्धाको अधिकार दिनुपर्ने संघको माग छ। सीमित संस्थालाई मात्रै एफडब्लूसीएमएसमा आबद्ध गरिए वैदेशिक रोजगार क्षेत्रमा एकाधिकार र सिन्डिकेटको अवस्था सिर्जना हुन सक्ने पनि जनाइएको छ।

Advertisement

संघले मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्य रहेकाले त्यहाँ श्रमिक पठाउने प्रक्रिया नेपाल र मलेसियाबिच भएको द्विपक्षीय श्रम सम्झौता तथा स्थापित कूटनीतिक संयन्त्रअनुसार पारदर्शी र प्रतिस्पर्धात्मक रूपमा अघि बढाउनुपर्ने जनाएको छ।

संघका अनुसार नेपालमा करिब १ हजार १ सय वैदेशिक रोजगार व्यवसायी तथा संस्था इजाजतपत्र लिएर सञ्चालनमा छन्। यो अवस्थामा कुनै निश्चित समूह वा सीमित संस्थालाई मात्र अवसर दिने व्यवस्था स्वीकार्य नहुने स्पष्ट पारेको छ।

करिब २५० इजाजतपत्रवाला संस्थाको नाम समावेश भएको एक्सेल सूची सार्वजनिक भएको विषयमा समेत संघले चासो जनाएको छ। उक्त सूचीका कारण व्यवसायीबीच भ्रम र अन्योल सिर्जना भएको भन्दै संघले वास्तविक निर्णय र प्रक्रियाबारे सम्बन्धित निकायबाट स्पष्ट जानकारी दिनुपर्ने बताएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×