
खोटाङ । सरकारी कार्यालयमा स्वदेशी उत्पादन प्रयोग गर्ने सरकारको निर्णयलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वागत गरेको छ। नगरप्रमुख तीर्थराज भट्टराईले मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयलाई ऐतिहासिक र दूरगामी कदम भन्दै यसलाई स्थानीय स्रोत, सीप र प्रविधिको संरक्षण तथा प्रवर्द्धनतर्फको महत्वपूर्ण उपलब्धि बताएका छन्।
स्थानीय सामग्रीको प्रयोग र वातावरण संरक्षणका लागि लामो समयदेखि अभियान चलाउँदै आएको नगरपालिकाले सरकारको निर्णयलाई आफ्नो अभियानको सफलताका रूपमा समेत लिएको छ। नगरपालिकाले आयोजना गरेको प्रथम राष्ट्रिय बाँस सम्मेलन र नगरप्रमुख भट्टराईको माइतीघर मण्डलामा गरिएको आठदिने आमरण अनशनका मुद्दासमेत निर्णयमार्फत राष्ट्रिय बहसमा स्थापित भएको विज्ञप्तिमा उल्लेख छ।
भट्टराईले सरकारी माग आए नगरपालिकामा उत्पादित बाँसका फर्निचर उपहारस्वरूप उपलब्ध गराउन तयार रहेको बताएका छन्। उनले सरकारी कार्यालयमा नेपाली हस्तकला, फर्निचर, स्टेसनरी तथा निर्माण सामग्री प्रयोग गर्नुपर्नेमा जोड दिँदै स्वदेशी उत्पादनलाई स्थानीय रोजगारी, उद्यमशीलता, आत्मनिर्भरता र वातावरण संरक्षणसँग जोड्नुपर्ने बताए।
नगरपालिकाले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक निकायमा निर्णय अनिवार्य रूपमा लागू गरी प्रभावकारी अनुगमन गर्न तथा स्थानीय स्रोत र सीपमा आधारित निर्माण प्रणाली विकास गर्न सरकारलाई सुझाव दिएको छ।



















