इलाममा चट्याङ लागेर युवक घाइते, तीन पशुचौपाया मरे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार २२:०९
प्रतीकात्मक तस्बिर

इलाम । इलाममा आइतबार परेको चट्याङका कारण एक युवक घाइते भएका छन् भने तीन वटा पशुचौपाया मरेका छन्। चट्याङले देउमाई नगरपालिका–९ मा विद्युत् मिटर बक्समा समेत क्षति पुर्‍याएको छ। घटनामा मानवीय क्षति भने भएको छैन। माङसेबुङ गाउँपालिका–३ खलङ्गेमा वाइफाइ जडान गर्ने क्रममा २२ वर्षीय बिक्रम लावतीलाई चट्याङ लागेको हो। पवन राईको घरअगाडि रहेको फलामको पोलमुनि बसेका बेला चट्याङ लागेर लावती बेहोस भएका थिए।

न्यू लिंक कम्पनीबाट वाइफाइ जडानका लागि पुगेका लावतीलाई तत्काल कम्पनीका सञ्चालक योगेश राईले उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्‍याएका थिए। उनको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र अवस्था मध्यम रहेको तथा बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ। घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान तथा विवरण संकलन गरेको छ।

Advertisement

यस्तै, देउमाई नगरपालिका–९ सरदार गाउँमा डिल्लीकुमार माबोहाङको घरमा जडान गरिएको विद्युत् मिटर बक्समा चट्याङ पर्दा पूर्ण रूपमा क्षति भएको छ। चट्याङका कारण ग्वालीमा रहेको एउटा पाडासमेत मरेको प्रहरीले जनाएको छ।मिटर बक्स र पाडासहित उक्त घटनाबाट करिब ६५ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। घटनामा घरका कुनै सदस्य घाइते भएका छैनन्।

सूर्योदय नगरपालिका–१३ कोल्बोटेमा पनि हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण गोठमा बाँधिएका दुई वटा गाई  मरेका छन्। मानविर नेम्बाङको घरदेखि करिब ५० मिटर दक्षिणमा रहेको गोठमा चट्याङ पर्दा गाईहरू मरेका हुन्। घटनाहरूको जानकारी प्राप्त भएपछि सम्बन्धित प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×