क्यानाडामा दुई नेपाली विद्यार्थीको डुबेर मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार ०९:३१

टोरन्टो । क्यानाडाको अन्टारियोमा यस गर्मीयाममा छुट्टाछुट्टै जल दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। पौडी तथा जलयात्राका क्रममा भएका दुर्घटनामा गुल्मीका सरोज शर्मा र लियन गुरुङले ज्यान गुमाएका हुन्।

पछिल्लो घटनामा अन्टारियोको सडबरीमा अध्ययनरत २६ वर्षीय सरोज शर्माको क्राउली लेकमा डुबेर मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले जनाएको छ। गुल्मी स्थायी घर भएका शर्मा अध्ययनका क्रममा सडबरीमा बस्दै आएका थिए।

Advertisement

अगस्ट १३ मा शर्मा साथीहरूसँग क्राउली लेक पुगेका थिए। दिउँसो करिब ३ः२० बजे अचानक वर्षासँगै तीव्र हावाहुरी चलेपछि उनीहरू सवार डुङ्गा (क्यानु) अनियन्त्रित भएर तालमा पल्टिएको स्थानीय सञ्चारमाध्यम सडबरी डटकमले जनाएको छ।

घटनाका क्रममा सडबरीका स्थानीय बासिन्दा जेम्स ब्यारियर र उनकी प्रेमिका केली वेड पनि तालमा थिए। मानिसहरू चिच्याएको सुनेपछि उनीहरू उद्धारका लागि घटनास्थल पुगेका थिए। ब्यारियरले लाइफ ज्याकेट लगाएका तर अत्तालिएर पानीमा डुब्न लागेका दुई जनालाई कायकको सहयोगमा उद्धार गरी किनारमा ल्याएका थिए।

दुई जनाको उद्धारपछि ब्यारियर शर्मा हराएको स्थानमा पुनः फर्किएर खोजी गरे पनि उनलाई फेला पार्न नसकेको सडबरी डटकमसँग बताएका छन्। ग्रेटर सडबरी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। शर्माले दुर्घटनाका बेला लाइफ ज्याकेट लगाएका थिए वा थिएनन् भन्नेबारे प्रहरीले अहिलेसम्म आधिकारिक पुष्टि नगरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

शर्माको शव नेपाल पठाउन एनआरएनए क्यानाडाको पहलमा गोफन्डमीमार्फत १४ हजार ५ सय क्यानेडियन डलर जुटाउने अभियान सञ्चालन गरिएको थियो। लक्षित रकम संकलन भएपछि उक्त अभियान बन्द गरिएको छ। यस्तै, उनको परिवारको ऋण तथा आर्थिक दायित्वमा सहयोग गर्ने उद्देश्यले २० हजार क्यानेडियन डलरको लक्ष्यसहित सुदीप श्रेष्ठ नेवारले अर्को अभियान सञ्चालन गरिरहेका छन्।

यसअघि मे महिनाको मध्यतिर लेक ह्युरोनमा भएको राफ्ट दुर्घटनामा अर्का नेपाली विद्यार्थी लियन गुरुङको मृत्यु भएको थियो। पाइनरी प्रोभिन्सियल पार्कनजिकैको तालमा साथीहरूसँग राफ्टमा गएका गुरुङ दुर्घटनापछि बेपत्ता भएका थिए। दुर्घटनामा उनका तीन जना साथी सकुशल किनारमा पुगेका थिए। गुरुङको भने करिब दुई सातासम्म खोजी गरिएको थियो। मे २९ मा पोर्ट फ्र्याङ्क्सनजिकैको किनारमा उनको शव फेला परेको थियो।

एकै गर्मीयाममा अन्टारियोका अलग–अलग जल क्षेत्रमा दुई नेपाली विद्यार्थीको मृत्यु भएपछि क्यानाडास्थित नेपाली समुदायले जल क्षेत्रमा हुने गतिविधिमा थप सावधानी अपनाउन आग्रह गरेको छ। नेपाली संघसंस्थाहरूले ताल, नदी तथा अन्य जल क्षेत्रमा पौडी खेल्दा वा जल खेलकुदमा सहभागी हुँदा लाइफ ज्याकेटलगायत सुरक्षा उपकरणको प्रयोग गर्न र मौसम तथा पानीको अवस्था हेरेर मात्र गतिविधि गर्न आग्रह गरेका छन्। (नेपालटचबाट)

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×