फाइल तस्बिरकाठमाडौं । मुख्य नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि आज मंगलबार देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ।
तर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, तनहुँ, लमजुङ, कास्की, दैलेख र सुर्खेत तथा आसपासका जिल्लाबाट बहने साना नदीमा बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ।
ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै, भोलि र पर्सि गण्डकी तथा लुम्बिनी प्रदेश भएर बहने केही साना नदीमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

























