थाइल्यान्डमा नेपाली बालकले जिते ‘जुनियर मोडल इन्टरनेसनल २०२६’ को उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार ०९:४१

काठमाडौं । नेपाली बालक सुर्यान्स श्रेष्ठले थाइल्यान्डमा आयोजित ‘जुनियर मोडल इन्टरनेसनल २०२६’को शीर्ष उपाधि जितेका छन्। २५ देशका बालबालिकाको सहभागिता रहेको अन्तर्राष्ट्रिय प्रतियोगितामा श्रेष्ठले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मुख्य उपाधि हात पारेका हुन्।

प्रतियोगितामा श्रेष्ठले प्रि–टिन विधातर्फ ‘प्रिन्स अफ एसिया’को सब–टाइटलसमेत जितेका छन्। गत १९ तारिखदेखि सुरु भएको प्रतियोगिता आइतबार साँझ सम्पन्न भएको हो। नेपालका तर्फबाट श्रेष्ठसँगै शिवांशु अर्याल र अदिश्री आचार्यले प्रतियोगितामा सहभागिता जनाएका थिए। शिवांशुले जुनियर विधातर्फ ‘प्रिन्स अफ एसिया’को सब–टाइटल जित्दा अदिश्रीले ‘प्रिन्सेस अफ एसिया’को सब–टाइटल हात पारिन्।

Advertisement

प्रतियोगितामा नेपाली बालबालिकाले आफ्नो प्रस्तुतिमार्फत नेपालको संस्कृति, इतिहास र पहिचानसमेत प्रस्तुत गरेका थिए। अदिश्रीले नेपाली मौलिक कपडा ढाकाको पहिरनमार्फत नेपाली मौलिकता झल्काएकी थिइन्। शिवांशुले नेपालको ऐतिहासिक ढुङ्गेधाराको इतिहास र वास्तुकला झल्किने भेषभूषामा प्रस्तुति दिएका थिए।

यस्तै, सुर्यान्सले विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका दूत भगवान् गौतम बुद्धको देशका रूपमा नेपालको परिचय प्रस्तुत गरेका थिए। नेपाली टोलीले बाजागाजासहित मौलिक भेषभूषामा नेवारी संस्कृति र परम्परा झल्किने गीतमा विशेष प्रस्तुति दिएका थिए। उक्त प्रस्तुतिले कार्यक्रममा सहभागीको ध्यान आकर्षित गरेको आयोजक पक्षले जनाएको छ।

नेपाली बालबालिकालाई प्रतियोगितामा सहभागी गराउने व्यवस्थापन रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको हो। प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले पनि सहभागिता जनाएका थिए।प्रतियोगितामा सहभागी नेपाली प्रतिस्पर्धीहरूको फेसन कन्सेप्ट डिजाइन श्रीषा बैदारले तयार गरेकी हुन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×