सत्य-तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १५:०४

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्य र तथ्यमा आधारित रही पत्रकारिता गरिनु पर्ने आवश्यकतामा जोड दिएका छन् । देश, समाज र जनताको हित हुने गरी पत्रकारिता गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा आज मंगलबार आयोजित पत्रकार दुर्घटना बिमा कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । बिमा कम्पनीले बिमितको भुक्तानी सहज र सरल ढङ्गबाट गर्ने व्यवस्थाका लागि आग्रह गर्दै उनले प्रदेश सरकारले स्थापना गरेको प्रदेश सञ्चार प्रतिष्ठानले पत्रकारको हकहितमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

व्यवसायीलाई आफ्नो पेशामा टिकाउन बिमा कम्पनीको ठूलो भूमिका रहेको उनले उल्लेख गरे । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता साहसिक एवं जोखिमपूर्ण पेसा भएकाले दुर्घटना बिमा कार्यक्रमबाट बिमित लाभान्वित हुने धारणा राखे ।

एक हजार २०० पत्रकारको एक वर्षका लागि दुर्घटना बिमामा लाग्ने खर्च प्रदेश सरकारले बेहोरेको जानकारी दिँदै उनले महासंघले आवश्यकता महसुस गरे कार्यक्रमलाई निरन्तरता दिने बताए । प्रदेश सरकारको आर्थिक सहयोगमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडले नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पत्रकारका लागि एक वर्षको दुर्घटना बिमा गरेको छ।

महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य कमल रिमाल, महासंघका कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, मोरङ शाखाका अध्यक्ष सुशीला पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका व्यवस्थापक निरञ्जन आचार्य र कम्पनीका कोशी प्रदेशका प्रमुख राजेन्द्र महर्जनले धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×