चार ट्रक गोलिया बरामद, कटान र निकासीका बारेमा अनुसन्धान सुरु

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार ०७:०१

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैध रूपमा निकासीको तयारीमा राखिएको उत्तिसका चार ट्रक गोलिया काठ बरामद गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मली डाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सीमामा पर्ने साप्सुखोला किनारबाट काठ बरामद गरिएको हो ।

स्थानीयले दिएको सूचनाका आधारमा वन कार्यालयले निरीक्षण गर्दा काठ निकासीको तयारी भइरहेको भेटिएपछि कर्मचारी परिचालन गरी तीन दिन लगाएर काठ नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख राजन राईले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आवश्यक अनुमति नलिई रुख कटान गरी काठ निकासी गर्न खोजिएको देखिएको छ ।

Advertisement

घटनाको विस्तृत अनुसन्धानका लागि वन कार्यालयले समिति गठन गरेको छ । समितिको प्रतिवेदनका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जानकारी राईले दिए ।

साप्सुखोलाको माथिल्लो क्षेत्रका सार्वजनिक तथा सामुदायिक वनमा रहेका रुख कटान गरी गोलिया काठ खोलाको बहावसँगै तल ल्याइएको हुनसक्ने वन कार्यालयको प्रारम्भिक निष्कर्ष छ । मध्यपहाडी लोकमार्गअन्तर्गत साप्सुखोलाको मोटरेबल पुल नजिक पनि काठका मुडा जम्मा गरेर राखिएको अवस्थामा भेटिएका थिए ।

वन कार्यालयको टोली पुग्दा केही मुडा खोलाबाट निकालेर बगरमा थुपारिएको र केही खोलामै छरिएको अवस्थामा थिए । नियन्त्रणमा लिइएका सबै काठ वन कार्यालयमा राखिएको छ ।

डिभिजन वन कार्यालयका अनुसार बरामद काठमध्ये केही निजी र केही सार्वजनिक जग्गाबाट अवैध रूपमा कटान गरिएको हुनसक्ने देखिन्छ । काठको स्रोत, कटानमा संलग्न व्यक्ति तथा निकासीको तयारीमा रहेका व्यवसायीका बारेमा समेत अनुसन्धान भइरहेको राईले बताए ।

वन ऐन, २०७६ अनुसार सार्वजनिक जग्गामा रहेका उत्तिसलगायत निकासीका लागि खुला गरिएका २८ प्रजातिका रुख अनुमति बिना कटान गरेको प्रमाणित भएमा १० हजार रूपैयाँसम्म जरिबाना र छ महिनासम्म कैद हुने व्यवस्था छ । निजी जग्गामा रहेका रुख कटानका लागि छुट्टै अनुमति आवश्यक नपर्ने भए पनि व्यावसायिक प्रयोजनका लागि काठ निकासी गर्दा सम्बन्धित वन कार्यालयबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

खोटाङका १० स्थानीय तहमा पछिल्ला वर्षहरूमा उत्तिस, मलातो, पात्ले, चिलाउनेलगायत विभिन्न प्रजातिका रुख कटान गरी गोलिया काठ बाहिरी जिल्लामा लैजाने क्रम बढेको छ । स्थानीयका अनुसार काठ व्यवसायीले ग्रामीण क्षेत्रका जग्गाधनीबाट कम मूल्यमा रुख खरिद गरी कटान गर्ने र तराईका विभिन्न जिल्लामा बिक्री गर्ने गरेका छन् । वन कार्यालयले साप्सुखोला क्षेत्रमा बरामद भएको काठको परिमाण, स्रोत र संलग्न व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×