
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने जोखिमयुक्त स्थानमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।
कोशी प्रदेशको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा अविरल वर्षाका कारण सडक अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्गको व्यवस्था रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै विभिन्न सडकखण्डमा समय तोकेर सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइने गरिएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। सुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैजुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
त्यस्तै, नुवाकोटको टोखा–छहरे सडकखण्डमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगाड खोलामा आएको बाढीले जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
देशका विभिन्न स्थानमा सडक अवरोध भइरहने सम्भावना रहेकाले लामो दूरीको यात्रामा निस्कनुअघि नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले यात्रुलाई आग्रह गरेको छ।



















