
रसुवा । टिमुरे बजारमा आज (बुधबार) बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्याएको छ। बिहान करिब ९ बजे आएको बाढीले बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार बाढीले टिमुरे बजारका धेरै घर बगाएको छ। उनका अनुसार प्रारम्भिक जानकारीमा बजारमा पाँचदेखि सातवटा घर मात्र बाँकी रहेको बताइएको छ। क्षतिको यकिन विवरण भने आइसकेको छैन।
बाढीका कारण इलाका प्रहरी कार्यालयमा समेत क्षति पुगेको छ। कार्यालयमा कार्यरत १५ जना प्रहरीमध्ये हालसम्म आठ जना मात्र सम्पर्कमा आएको डीआईजी रेग्मीले बताए। अन्य प्रहरीको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको उनले बताए।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
तिब्बततर्फ हिमताल विस्फोट भएर रसुवाको भोटेकोसी नदीमा आकस्मिक बाढी आएको हुनसक्ने विभागले प्रारम्भिक अनुमान गरेको छ। बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार बिहान करिब ९ बजे तिब्बततर्फबाट टिमुरे नाका हुँदै ठूलो बाढी नेपाल प्रवेश गरेको हो।
वर्षाका कारण नदीमा बाढी आएको नभई आकस्मिक रूपमा ठूलो बाढी प्रवेश गरेकाले तिब्बतमा हिमताल विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको पराजुलीले बताए। बाढीको वास्तविक कारण पत्ता लगाउन विभागले चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेको पनि उनले जानकारी दिए।

























