
काठमाडौं । भीषण बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ। घटनापछि सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहन र सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सबै कदम चाल्न निर्देशन दिइएको मन्त्री तिमिल्सिनाले बताएका छन्।
उनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई नदी किनार, पहिरोको जोखिम भएका स्थानमा नजान तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्। साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनीको पालना गर्न पनि उनले अपिल गरेका छन्।
अवस्था अझै विकसित हुनसक्ने भएकाले अफवाहको पछि नलाग्न मन्त्री तिमिल्सिनाले आग्रह गरेका छन्। उनले आधिकारिक सूचनामा विश्वास गर्न, एकअर्कालाई सचेत गराउन र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।



















