भोटेकोशीको बाढीले अकल्पनीय क्षति, दर्जनौँ बस्ती र बजार बगायो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार ११:३०

काठमाडौं । तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीका कारण दर्जनौँ बस्ती तथा बजार प्रभावित भएका छन् भने प्रहरी कार्यालय, विद्युत् आयोजना, प्रसारण संरचना, पुल, सडक र अन्य भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । ठूलो मानवीय एवं भौतिक क्षति पुगेको अनुमान गरिए पनि यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन ।

Advertisement

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी अचानक आएको हो । तल्लो तटीय क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा क्षति पुगेको र बस्तीमा समेत बाढी पसेको जानकारी आएको उनले बताएका छन् । नेपाली भू–भागमा ठूलो वर्षा नभएकाले बाढी तिब्बततर्फबाट आएको हुनसक्ने प्रशासनको प्रारम्भिक अनुमान छ ।

बाढीले रसुवामा नेपाल प्रहरीका तीनवटा कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढी प्रभावित भएका छन् । ती कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको अवस्थाका बारेमा प्रारम्भिक चरणमा यकिन विवरण आउन सकेको छैन ।

यसैबीच, रसुवामा खटिएका सुरक्षाकर्मीमध्ये केही अझै सम्पर्कविहीन छन् । बोर्डर आउट पोस्ट टिमुरेमा खटिएका नौ जना सशस्त्र प्रहरीसँग सम्पर्क हुन नसकेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन् ।

अर्को विवरणअनुसार प्रभावित क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये १६ जना सम्पर्कविहीन रहेका छन् भने टिमुरेबाट पाँच जना प्रहरी सम्पर्कमा आएका छन् । स्याफ्रुबेँसीका नौ जनासहित रसुवागढी र मैलुङमा खटिएका प्रहरीसमेत सम्पर्कमा नआएको जनाइएको छ ।

बाढीले रसुवाको विद्युत् पूर्वाधारमा पनि ठूलो असर पारेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ । त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विभिन्न वितरण संरचना पनि प्रभावित भएका छन् । विद्युत् उत्पादन, प्रसारण र वितरण संरचनामा क्षति भएपछि रसुवा र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित तथा केही स्थानमा अवरुद्ध भएको छ ।

रसुवा भन्सार कार्यालयसँग पनि सम्पर्क विच्छेद भएको छ । भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार कार्यालयमा कार्यरत १३ भन्दा बढी कर्मचारी सकुशल रहेको जानकारी आए पनि कार्यालयको अवस्था भने थाहा हुन सकेको छैन । कार्यालयको अवस्थाका बारेमा थप जानकारी लिने प्रयास भइरहेको विभागले जनाएको छ ।

बाढीको असर नुवाकोटसम्म पुगेको छ । बेत्रावती, त्रिशूली, ढुंगे र देवीघाट क्षेत्रका बजार तथा तटीय क्षेत्रमा ठूलो भौतिक क्षति भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताएका छन् । बाढी बजार क्षेत्रभित्रै पसेकाले तटीय क्षेत्रमा बढी क्षति पुगेको प्रशासनको भनाइ छ । हालसम्म नुवाकोटमा मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन ।

धादिङको गल्छीमा बाढीले एउटा झोलुंगे पुलसमेत बगाएको छ । गल्छी र मलेखु क्षेत्रका तटीय बस्ती जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा चल्ने सवारीसाधनलाई विभिन्न सुरक्षित स्थानमा रोकेर राखिएको छ ।

बाढीका कारण नागढुंगादेखि चितवनको भरतपुरसम्मको पृथ्वी राजमार्ग बन्द गरिएको प्रहरीले जनाएको छ । धादिङको राजमार्ग क्षेत्रमा बाढीको प्रभाव फैलिँदै गएपछि दुवैतर्फबाट सवारी आवागमन रोकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताएका छन् । तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौंलगायतका स्थानबाट विपद् व्यवस्थापन टोली प्रभावित क्षेत्रतर्फ पठाइएको छ ।

बाढीका कारण गोसाईंकुण्डतर्फ गएका तीर्थयात्री र पदयात्रीका परिवारसमेत चिन्तित भएका छन् । जनैपूर्णिमाको अवसरमा ठूलो संख्यामा मानिस गोसाईंकुण्डतर्फ गएका थिए । केही सम्पर्कमा रहे पनि धेरैको फोन सम्पर्क हुन नसकेको भन्दै आफन्तहरूले सामाजिक सञ्जालमार्फत उद्धारका लागि आग्रह गरिरहेका छन् ।

रसुवाका तटीय क्षेत्रमा भएको क्षतिको प्रारम्भिक आकलनअनुसार बाढी गत वर्षको तुलनामा निकै ठूलो रहेको सुरक्षाकर्मीहरूले बताएका छन् । डीएसपी अशोक थापाले कम्तीमा गत वर्षको भन्दा १० गुणा ठूलो विनाशकारी बाढी आएको र दर्जनौँ बस्ती तथा बजार प्रभावित भएको प्रारम्भिक जानकारी दिएका छन् । टिमुरे बजारमा बिहान करिब ९ बजेतिर अचानक बाढी आएको बताइएको छ ।

बाढीपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशनपछि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा जिल्ला प्रशासनसहितका संयन्त्र प्रभावित क्षेत्रमा परिचालन भएका छन् । जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ ।

नेपाली सेनाले मेडिकल टिमसहित दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाएको छ । सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिमसहितको एमआई–१७ हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको छ भने धुन्चे र त्रिशूलीबाट समेत उद्धार टोली परिचालन गरिएको छ । सम्भावित उद्धार तथा राहतका लागि अन्य हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको छ ।

सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका भोटेकोशी तथा अन्य नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र जोखिम भए सुरक्षित स्थानमा जान आग्रह गरेको छ । पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा अनावश्यक यात्रा नगर्नसमेत आग्रह गरिएको छ ।

बाढीले पुर्‍याएको वास्तविक क्षतिको विवरण भने उद्धार तथा खोजी कार्य अघि बढेपछि मात्र स्पष्ट हुने देखिएको छ । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइरहे पनि सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएका कारण घटनास्थलबाट पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको छ । अहिले सरकारको प्राथमिकता मानवीय क्षति रोक्ने, सम्पर्कविहीन सुरक्षाकर्मी तथा नागरिकको खोजी गर्ने र प्रभावितलाई सुरक्षित स्थानमा सार्नेमा केन्द्रित छ ।

तपाइको प्रतिक्रिया
अहिलेसम्म कति जनाको भयो उद्धार ?, बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरले अनुमति लिन नपर्ने
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
भोटेकोशीको बाढीले निम्त्यायो महासंकट : सरकारलाई सहयोग गरौं, उद्धार र राहतमा जुटौं
भोटेकोशीको बाढीले रसुवा र नुवाकोट तहसनहस, उद्धारका लागि ८ हेलिकप्टर परिचालन
स्याफ्रुबेसीदेखि टिमुरेसम्म सम्पर्कविहीन, उद्धारको पर्खाइमा सयौं नागरिक
रसुवा बाढीपछि उद्धारमा जुट्न रवि र गगनको अपिल, अफवाह नफैलाउन आग्रह
भोटेकोशीको बाढीले अकल्पनीय क्षति, दर्जनौँ बस्ती र बजार बगायो
नुवाकोटमा बाढी : त्रिशूली बजारका ६० घर बगे
रसुवाबाट आएको बाढीले नुवाकोटका बजारमा ठूलो क्षति, मानवीय क्षतिको पुष्टि छैन
मेडिकल टिमसहित सेनाको एमआई-१७ हेलिकप्टर रसुवातर्फ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×