भोटेकोशीको बाढीले रसुवा र नुवाकोट तहसनहस, उद्धारका लागि ८ हेलिकप्टर परिचालन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १२:१३

काठमाडौं । तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण बस्ती, बजार, सडक, पुल, भन्सार, जलविद्युत आयोजना तथा सञ्चार पूर्वाधारमा क्षति पुगेको छ भने सयौं नागरिक प्रभावित भएका छन् ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढीले बस्ती र बजार नै तहसनहस बनाएको स्थानीयले बताएका छन् । त्यहाँ ३ सयभन्दा बढी स्थानीय उद्धारको पर्खाइमा रहेको वडा सदस्य पेमा दोर्जे घलेले बताए । खाना र लुगाको समेत अभाव रहेको तथा जनधनको क्षतिको यकिन विवरण आउन नसकेको उनको भनाइ छ ।

Advertisement

रसुवागढी भन्सारको संरचनामा समेत बाढीले पूर्ण क्षति पुर्‍याएको अर्थ मन्त्रालयले जनाएको छ । भन्सारको यार्डमा रहेका सबै सवारीसाधन बाढीले बगाएको छ । भन्सारमा ३६ जनाको दरबन्दी रहेकामा दुई जना बिदामा रहेको र अन्य कर्मचारीसँग सम्पर्क तथा क्षतिको विवरण संकलन भइरहेको मन्त्रालयले जनाएको छ ।

बाढीको प्रभाव नुवाकोटसम्म पुगेको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार वेत्रावती बजारमा सबैभन्दा बढी क्षति भएको प्रारम्भिक जानकारी छ । त्रिशूली बजार र देवीघाट बजार पनि बाढीबाट प्रभावित भएका छन् । सेन्ट्रल जेलसमेत डुबानमा परेको छ । क्षतिको विस्तृत विवरण संकलन भइरहेको नगरपालिकाले जनाएको छ ।

बाढीका कारण नेपाल टेलिकमको सञ्चार पूर्वाधारमा समेत क्षति पुगेको छ । रसुवामा दुई र नुवाकोटमा पाँच गरी सातवटा टावरमा भौतिक क्षति भएको प्रारम्भिक विवरण छ । गल्छीदेखि रसुवागढीसम्मको अप्टिकल फाइबरमा समेत समस्या आएपछि टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ । टेलिकमले वैकल्पिक प्रविधिको प्रयोग गरी सेवा सञ्चालनमा राख्ने प्रयास गरिरहेको जनाएको छ ।

विद्युत् पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ । रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ तथा ‘बी’ हब सबस्टेसन र देवीघाट जलविद्युत् केन्द्रलगायतका संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उत्पादन, प्रसारण र वितरण प्रणालीमा क्षति पुगेका कारण प्रभावित क्षेत्रमा विद्युत् सेवा नियमित हुन समय लाग्ने देखिएको छ ।

बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका केही कर्मचारी सम्पर्कमा आएका छन् । प्रहरीका अनुसार टिमुरेमा १० जना, स्याफ्रुबेसीबाट चार जना र मैलुङबाट एक जना प्रहरी सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका अधिकांश घाइते रहेको र उनीहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याउने प्रयास भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । केही प्रहरी अझै सम्पर्कविहीन छन् ।

यसैबीच, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको बैठकमा बाढीबाट भएको क्षतिको विवरणबारे जानकारी लिँदै प्रभावित नागरिकको तत्काल उद्धार, खोज तथा राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

विपद् प्राधिकरणको बैठकले पनि उपलब्ध सबै स्रोतसाधन परिचालन गरी उद्धार तथा राहत कार्य तीव्र बनाउने निर्णय गरेको छ । तत्काल उद्धारका लागि धुन्चे, त्रिशूलीलगायतका क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने र हालसम्म आठवटा हेलिकप्टर परिचालन गरिएको जानकारी दिइएको छ । घाइते तथा बिरामीको उपचारका लागि त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित बनाउने निर्णयसमेत भएको छ ।

बाढीको कारणका बारेमा भने अझै यकिन हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागको मौसमविद्का अनुसार रसुवा क्षेत्रमा ठूलो वर्षा भएको विवरण छैन । तिब्बततर्फ भने भारी वर्षा भएको जानकारी प्राप्त भएको छ । बाढीको प्रकृति हेर्दा सामान्य वर्षाका कारण मात्रै यति ठूलो बाढी आएको नदेखिएको विभागको भनाइ छ ।

बाँध फुटेको, ठूलो हिमपहिरोका कारण नदी थुनिएको वा हिमनदीको कुनै भाग फुटेर अचानक पानीको बहाव बढेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । वास्तविक कारण पत्ता लगाउन नेपाल र चीनतर्फको अवस्थाका बारेमा थप अध्ययन भइरहेको छ । बाढीले नदी किनारमा राखिएका जलसतह मापन उपकरणसमेत बगाएकाले घटनास्थलबाट तत्काल थप विवरण लिन कठिनाइ भएको विभागले जनाएको छ ।

बाढीको जोखिम अझै कायम रहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा बेपत्ताको खोजीलाई प्राथमिकतामा राखेर राज्यका विभिन्न निकाय परिचालन भएका छन् ।

तपाइको प्रतिक्रिया
बाढीको वितण्डा : फेला पर्न थाले मृतकका शवहरू
भोटेकोशीमा आकस्मिक बाढी : चीनसँग समन्वय, पुनः बाढीको जोखिम
गृहमन्त्रीले संसद्लाई भोटेकोशी बाढीको जानकारी गराउने, प्रधानमन्त्रीको प्रश्नोत्तर स्थगित
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह
४१ सुरक्षाकर्मी र १४ जना भन्सार कर्मचारी सम्पर्कविहीन
उद्धार एवं राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीको अपिल
कांग्रेसको आकस्मिक बैठक
जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु
जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु
भोटेकोशीको बाढीले अवस्था भयावह (तस्बिरहरु)
अहिलेसम्म कति जनाको भयो उद्धार ?, बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरले अनुमति लिन नपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×