
काठमाडौं । रसुवामा आएको बाढीका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएको सम्बन्धित सुरक्षा निकायले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार ३२ जना प्रहरी सम्पर्कविहीन छन् । केही प्रहरी सम्पर्कमा आइसकेका छन् भने बाँकीको खोजी भइरहेको छ । बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुवेशी प्रहरी चौकी, रसुवागढी र मैलुङ प्रहरी कार्यालयमा क्षति पुर्याएको छ ।
यस्तै, सशस्त्र प्रहरी बलका बीओपी टिमुरेमा कार्यरत ९ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन छन् । बाढीका कारण रसुवाका विभिन्न प्रहरी युनिटमा व्यापक क्षति पुगेको छ ।
यसैबीच, रसुवागढी भन्सार कार्यालयमा कार्यरत २५ कर्मचारी भने सम्पर्कमा आएका छन् । अर्थ मन्त्रालयका अनुसार भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका हुन् । तर, भन्सारका १४ जना कर्मचारी सम्पर्कविहीन बनेका छन् ।
रसुवागढी भन्सार कार्यालयमा ३६ स्थायी दरबन्दी रहेकोमा २५ जना सम्पर्कमा आएका हुन् । त्यस्तै, करार तथा ज्यालादारीमा कार्यरत ४ जनामध्ये १ जना सम्पर्कमा आएका छन् । बाँकी ११ स्थायी र ३ करार तथा ज्यालादारी कर्मचारी गरी १४ जनाको खोजी जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

























