
काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय एवं आकस्मिक बाढीको कारण पत्ता लगाउन नेपालले छिमेकी मुलुक चीनसहित विभिन्न निकायसँग समन्वय थालेको छ । बाढीको मुख्य कारण अहिलेसम्म यकिन हुन सकेको छैन ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशीको जलाधार क्षेत्र चीनको तिब्बतसम्म फैलिएकाले त्यहाँ भएको कुनै प्राकृतिक घटनाको प्रभाव बाढीमा परेको हुनसक्ने आशंका गरिएको छ । बाढीको वास्तविक कारण पत्ता लगाउन स्याटेलाइट तस्बिरमार्फत अध्ययन गर्ने तयारी भइरहेको छ । यसका लागि चिनियाँ पक्ष र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतसँग सहकार्य भइरहेको प्राधिकरणले जनाएको छ ।
मौसमविद्हरूका अनुसार रसुवा क्षेत्रमा मंगलबार साँझदेखि असाधारण ठूलो वर्षा भएको थिएन । त्यसैले सामान्य वर्षाका कारण मात्रै यति ठूलो बाढी आएको हो वा नदीको बहाव अन्य कारणले एक्कासि बढेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
चिनियाँ एकेडेमी अफ साइन्समा कार्यरत हिमताल तथा हिमबाढी जोखिम अनुसन्धानकर्ता नितेश खड्काका अनुसार नेपाल–चीन सीमा क्षेत्रमा ठूलो हिमपहिरो खसेर नदी थुनिएको र त्यसबाट बनेको अस्थायी ताल फुट्दा बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान छ । तिब्बतको जिलोङ काउन्टीअन्तर्गत दोङलिङ साङ्पो क्षेत्रमा यस्तो घटना भएको हुनसक्ने उनको भनाइ छ । तर, त्यहाँ रहेका हिमताल साना भएकाले एउटै ताल फुटेर मात्रै यति ठूलो बाढी आएको निष्कर्षमा पुग्न नसकिने उनले बताएका छन् ।
बाढीको कारणका बारेमा थप स्पष्ट हुन स्याटेलाइट तस्बिरको अध्ययन भइरहेको छ । विज्ञहरूले हिमताल विस्तार र हिमपहिरोका कारण हिमाली क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढ्दै गएको पनि बताएका छन् । त्रिशूली, भोटेकोशी, तामाकोशी, मर्स्याङ्दी र अरुणजस्ता नदीका जलाधार क्षेत्रको ठूलो हिस्सा तिब्बतमा रहेकाले नेपालमा यस्ता बाढीको जोखिम उच्च रहेको उनीहरूको भनाइ छ ।
यसैबीच, चिनियाँ पक्षले रसुवामा पुनः बाढी आउन सक्ने चेतावनी दिएको छ । चिनियाँ पक्षबाट प्राप्त जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा करिब ७ मिटर अग्लो पानी थुनिएको प्राकृतिक बाँध अझै रहेको र त्यो जुनसुकै बेला फुट्न सक्ने जोखिम छ ।
सम्भावित बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने भएकाले नदी तथा खोलाको आसपासका बासिन्दा, राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य टोलीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगरी सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको छ ।

























