
काठमाडौं । सरकारले बाढीबाट प्रभावित तीन जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले रसुवा, नुवाकोट र धादिङलाई संकटग्रस्त घोषणा गरेको हो ।
संकटग्रस्त क्षेत्र घोषणा गर्दै ती जिल्लामा आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ । बैठकले सबै मन्त्रीलाई आआफ्नो मन्त्रालयअन्तर्गत आवश्यक कामका लागि प्रभावित क्षेत्रमा फिल्डमै खटिन निर्देशन दिएको छ ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसदसँग छलफल गरी बाढीबाट भएको क्षति, तटीय बस्तीको अवस्था तथा उद्धार र राहतका बारेमा जानकारी लिएका थिए । प्रधानमन्त्रीले प्रभावित नागरिकको सुरक्षा र राहतलाई प्राथमिकता दिन, तल्लो तटीय क्षेत्रमा सतर्कता बढाउन तथा विस्थापितलाई तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन् ।
सरकारले सुरक्षा निकाय परिचालन गरी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ ।

























