बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारका १० निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १७:५७

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम यस्तो निर्णय गरेको हो ।

सरकारले बाढी तथा डुबानमा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको तत्काल निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । नेपाली सेना, स्वास्थ्य मन्त्रालय तथा सरकारी अस्पतालमार्फत घाइतेको उपचारको व्यवस्था मिलाइनेछ ।

Advertisement

बैठकले उद्धार कार्यलाई तीव्र बनाउन गृह र रक्षा मन्त्रालयको समन्वयमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर पूर्ण क्षमतामा परिचालन गर्ने निर्णय पनि गरेको छ । हेलिकप्टरमार्फत घाइते र विस्थापित नागरिकको तत्काल उद्धार गरिने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

घरबार गुमाएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खाना र बसोबासको व्यवस्था मिलाउने निर्णयसमेत भएको छ । त्यसका लागि गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरिनेछ ।

बाढीका कारण ज्यान गुमाएकाका परिवारलाई कानुनअनुसार तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । त्यस्तै, अवरुद्ध सडक, खानेपानी, विद्युत् र दूरसञ्चार सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्थापन तथा समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको छ ।

सरकारले विपद् व्यवस्थापनका लागि छिमेकी मुलुकसँग पनि समन्वय गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयमार्फत चीन र भारत सरकारसँग आवश्यक संवाद भइरहेको र दुवै मुलुकबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको प्रवक्ता पोखरेलले बताए ।

उद्धारको आवश्यकता परेमा नागरिकले ह्वाट्सएपमार्फत आफ्नो जिओ–लोकेसन पठाउन सक्ने सरकारले जनाएको छ । त्यसरी सम्पर्क गर्न सम्भव नभए आगो बालेर धुवाँ निकाल्दै उद्धार टोलीलाई संकेत गर्नसमेत आग्रह गरिएको छ ।

यसैबीच, उद्धार तथा राहत कार्यमा अवरोध हुन सक्ने भन्दै सरकारले अनुमति नलिई ड्रोन उडाउन रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, उपचार, राहत, सुरक्षित स्थानमा व्यवस्थापन र क्षतिग्रस्त पूर्वाधार पुनःस्थापनालाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया
बाढीको प्रारम्भिक कारण हिम–चट्टान पहिरो भएको संकेत
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
राष्ट्रिय स्वतन्त्र पार्टी
बाढीपीडितका लागि सत्तारुढ रास्वपाले ५० लाख दिने
बाढीपछि ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी र बैंकका २६ कर्मचारी सम्पर्कविहीन
इटहरीका डीएसपी सुवास हमाल सर्वोत्कृष्ट प्रहरी
बाढी प्रभावितको उद्धारमा जुट्न कांग्रेस र एमालेको आग्रह
बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारका १० निर्णय
भारत, चीन र विश्व बैंकको सहयोग प्रस्ताव, ‘के चाहिन्छ, सूची पठाउनुस्’
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गर्न ओलीको आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×