भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १९:००

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ । यो साँझ ६ बजे नेपाल प्रहरीले दिएको तथ्यांक हो । बाढीपछि विभिन्न नदी तथा खोलाको तटीय क्षेत्रमा हालसम्म ७२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ११, धादिङमा १८, चितवनमा २८, गोरखामा ९, तनहुँमा ४ र पूर्वी नवलपरासीमा १ जनाको शव भेटिएको छ । फेला परेका शवहरुको पहिचान हुन बाँकी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए ।

Advertisement

उनका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा शवहरू फेला परिरहेका छन् । बाढीमा परेका २८ जना प्रहरी कर्मचारीसहित ५८ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएपछि ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामलाई तीव्र पारिएको छ ।

नेपाली सेनाका अनुसार हालसम्म रसुवाबाट मात्रै ८८ जनाको उद्धार गरिएको छ । जम्मा उद्धार गरिएकाको संख्या १ सय २० माथि छ । सेनाले हेलिकप्टर परिचालन गरी बाढी प्रभावितको उद्धार गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रहरी प्रवक्ता काफ्लेले उद्धार तथा राहतसँगै फेला परेका शवको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम भइरहेको बताए । कानुनी तथा प्रक्रियागत अड्चन हटाउँदै उद्धार, खोजी तथा शव व्यवस्थापनको कामलाई तीव्र बनाइएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×