
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि गोरखा जिल्ला जोडिएको क्षेत्रमा आठ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती शव फेला परेका हुन् ।
गण्डकी गाउँपालिका–८ धवादीघाटस्थित नदी किनारमा एक पुरुषको शव फेला परेको छ । यस्तै, गण्डकी–६ भुम्लिचोकस्थित त्रिशूली नदी किनारमा एउटा, गण्डकी–१ बुट्टारस्थित नदी किनारमा एउटा तथा गण्डकी–४ फेवाटारमा एक पुरुषको शव फेला परेको छ ।
यसैगरी गण्डकी–७ ज्यामिरेघाटमा एक पुरुषको शव र सहिदलखन गाउँपालिका–३ सिलिङटारस्थित नदी किनारमा तीन पुरुषको शव फेला परेको सूचना अधिकारी श्रेष्ठले बताए ।
गण्डकी गाउँपालिका–१ बुटारस्थित निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाभित्र पनि बाढी पसेको छ । त्यहाँ रहेका मजदुर र उपकरणलाई सुरक्षित ठाउँमा सारिएको सो आयोजनाका निरञ्जन रेग्मीले जानकारी दिए ।
भोटेकोशीमा गएको बाढीका कारण पृथ्वीराजमार्गसँग गोरखा जोड्ने दुई झोलुङ्गे पुल बगाएको छ । यस्तै, एउटा झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको सूचना अधिकारी श्रेष्ठले बताए । जिल्लाको गण्डकी गाउँपालिका–८ धवादीघाट र धादिङको चौकीटार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो ।

























