
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले उद्धार, उपचार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउने घोषणा गरेका छन् ।
प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले विपद्को यस कठिन घडीमा सरकार र सम्पूर्ण देशवासी पीडित परिवारको साथमा रहेको बताएका छन् ।
प्रधानमन्त्रीका अनुसार बाढीको खबर प्राप्त हुनासाथ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको थियो । त्यसपछि राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को बैठकसमेत बसेर उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ । सुरक्षाकर्मीले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० जनाको उद्धार गरिसकेको प्रधानमन्त्री शाहले बताएका छन् । उद्धार गरिएका घाइतेलाई तत्काल काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ ।
घाइतेको सहज र निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको जानकारी उनले दिएका छन् । उनका अनुसार उपत्यकाका अन्य ठूला अस्पताललाई पनि आवश्यकताअनुसार घाइतेको उपचार गर्न तयारी अवस्थामा राखिएको छ ।
प्रभावित क्षेत्रमा मेडिकल टिम, चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत संस्थाबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री पठाइएको प्रधानमन्त्री शाहले बताएका छन् । आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा नेपाल स्काउटसँग समन्वय भइरहेको छ ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग समन्वय गरी स्थानीय तहमा आवश्यक सहयोग पुर्याउने काम भइरहेको बताएका छन् । बेपत्ता नागरिकको खोजी, घाइतेको विवरण संकलन तथा बाढीबाट भएको क्षतिको विस्तृत विवरण तयार गर्ने काम निरन्तर भइरहेको उनले जनाएका छन् । उद्धार कार्य रातभर पनि जारी रहने उनको भनाइ छ ।
बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको सहिद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएका छन् । ती क्षेत्रमा पीडित परिवारलाई खानेकुरा, सफा खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्याउने सरकारले जनाएको छ ।
बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिइने प्रधानमन्त्री शाहले बताए । विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले विपद्को समयमा सरकारका सम्पूर्ण साधन–स्रोत परिचालन गरी नागरिकको उद्धार, उपचार, खानपिन तथा बसोबासको व्यवस्था गरिने बताएका छन् । साथै, सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारी राहत तथा उद्धार अभियानमा सहयोग गर्न उनले आग्रह गरेका छन् ।

























