
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ६२ नेपाली र ३४१ जना विदेशी पर्यटक छन्।
पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरका अनुसार विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका पर्यटकहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।
सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला छन्। सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। बोर्डका अनुसार भारतका १३३, अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना पर्यटक सम्पर्कविहीन छन्।
त्यस्तै, युक्रेनका सात, सिंगापुर र दक्षिण अफ्रिकाका छ–छ, न्युजिल्यान्ड र जापानका पाँच–पाँच जना पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्यान्ड, नेदरल्यान्डलगायत २५ भन्दा बढी देशका नागरिकसमेत बाढीपछि सम्पर्कविहीन भएको जनाइएको छ।
बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरी चौकी तथा भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण रसुवागढी नाका जोड्ने सडक तथा पुलसमेत क्षतिग्रस्त भएका छन्।
पर्यटक तथा उनीहरूका परिवारजनलाई आवश्यक जानकारी र सहयोगका लागि नेपाल पर्यटन बोर्डले टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरीको ९८५१२८९४४५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

























