बिहानैदेखि बाढीपीडितको उद्धार सुरु

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार ०६:१२

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको उद्धार आज (बिहीबार) बिहानैदेखि सुरु भएको छ ।

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत प्रभावित क्षेत्रबाट नागरिकको उद्धार गर्ने सुरु भएको हो । बुधबार रात परेकाले सम्भव नहुने भएपछि उद्धार रोकिएको थियो ।

Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले बाढी प्रभावित क्षेत्रबाट घाइतेको उद्धार गरी प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने शिविरमा लैजाने निर्णय गरेको छ । गम्भीर घाइतेलाई भने तत्काल हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिने छ ।

घाइतेको अवस्थाअनुसार प्राथमिकता निर्धारण गरेर उद्धार तथा उपचारको काम अघि बढाइएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्रीसमेत स्थलमार्ग हुँदै नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ ।

प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, स्वास्थ्य टोली र स्रोतसाधन परिचालन गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । सरकारले उद्धारमा सक्रियता बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×