इटहरीमा चार सय चालकलाई क्यूआर कोडसहितको सुरक्षित चालक पोसाक वितरण

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार ०६:५७

इटहरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले चार सय जना सिटी सफारी चालकलाई क्यूआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गरेको छ ।

‘सुरक्षित चालक अभियान’ अन्तर्गत कार्यालय परिसरमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख एसपी (प्रहरी उपरीक्षक) दीपक गिरीले सवारी चालक अनुमतिपत्र प्राप्त चार सय ई–रिक्सा (सिटी सफारी) चालकलाई सुरक्षित चालक लेखिएको पोसाक वितरण गरेका हुन् । कार्यक्रममा एसपी गिरीले सुरक्षित चालक पोसाकको औचित्य, सडक सुरक्षा र सवारी चालकको जिम्मेवारीका बारेमा जानकारी दिएका छन् ।

Advertisement

उनले सुरक्षित चालक अभियानले चालकहरूमा जिम्मेवारीबोध बढाउनुका साथै दुर्घटना न्यूनीकरणमा मद्धत गर्ने र यात्रु तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताए । ई–रिक्सा छाता संगठन इटहरीका अध्यक्ष कुमार तामाङले सुरक्षित चालक अभियानले ई–रिक्सा चालकमा थप जिम्मेवारीबोध गराएको बताउँदै सडक अनुशासन कायम गर्न अभियानले महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा सुरक्षित चालक पोसाक उपलब्ध गराउन सहयोग गर्ने तथा ट्राफिक व्यवस्थापनको क्षेत्रमा निरन्तर सहयोग पुर्‍याउँदै आएका विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा समाजसेवी, स्थानीय, ट्राफिक प्रहरी, ई–रिक्सा संघका प्रतिनिधि तथा सिटी सफारी चालकहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×