पाँचथरमा अटो र तेह्रथुममा पिकअप दुर्घटना, हाइड्रो पावरका कर्मचारीसहित दुई जनाको मृत्यु

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार ०७:३६
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 

विराटनगर । पाँचथर र तेह्रथुममा अलगअलग दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । पाँचथरमा अटो टेम्पो र तेह्रथुममा पिकअप गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये एक जना हाइड्रो पावरका कर्मचारी छन् ।

प्रहरीका अनुसार पाँचथरको फिदिम नगरपालिका–८ मान्द्रे भिरस्थित पौवा भन्ज्याङबाट तमाखे रानीटार जाने भित्रि कच्ची सडक खण्डमा प्र १–०१–०२ स ६००७ नम्बरको अटो बुधबार साँझ ७ः५० बजेतिर दुर्घटनामा परेको हो । पौवा भञ्याङबाट रानीटारतर्फ जाँदै गरेको अटो सकडबाट करिब सात मिटर तल खसेर दुर्घटना हुँदा चालक फिदिम–८ का अन्दाजी ४२ वर्षीय सुजन राईको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

Advertisement

राईको घटनास्थलमै मृत्यु भएको थियो । उक्त अटोमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । उकालो र भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, तेह्रथुमको म्याङलुङ नगरपालिका–९ बगाले होटल अगाडि मध्यपहाडी लोकमार्गमा हाइड्रो पावरको सामान बोकेको पिकअप गाडी दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ । जिरीखिम्तीबाट म्याङलुङतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५६०४ नम्बरको पिकअप दुर्घटनामा परेको हो ।

म्याङलुङ–९ स्थित रिलाबर हाइड्रो पावर हाउसको २५२३ सीसी हर्ष पावर बोकेको पिकअप नालीको भित्तामा ठोक्किएर दुर्घटना हुँदा गाडीमा सवार उक्त हाइड्रो पावरका कर्मचारी तेह्रथुमको फेदाप गाउँपालिका–४ का अन्दाजी ४० वर्षीय टेकबहादुर कटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल तेह्रथुममा बुधबार दिउँसो १२ः२० बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा पिकअप चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ का अन्दाजी ४३ वर्षीय राजेन्द्र श्रेष्ठको अवस्था सामान्य छ । उनलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । ‘ब्रेक फेल’ भएर पिक दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×