
काठमाडौं । चीनले नेपाली पक्षलाई समयमै पूर्वसूचना नदिँदा ठूलो मानवीय क्षति भएको भन्ने दाबी गलत रहेको जनाएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले चीनतर्फ रहेको भूगर्भीय विपद्का कारण बनेको बाँध भत्किएर नेपाली क्षेत्रमा ठूलो क्षति भएको भन्ने दाबीसमेत गलत रहेको स्पष्ट पारेको हो ।
नेपाल-चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपहिरोका कारण दुवैतर्फ ठूलो क्षति भएको अवस्थामा घटनालाई लिएर आरोप–प्रत्यारोप गर्नुभन्दा विपद्का बेला आपसी सहकार्य र समन्वयमार्फत उद्धार तथा राहतलाई प्रभावकारी बनाउनुपर्नेमा दूतावासले जोड दिएको छ ।
सीमा क्षेत्रमा आएको बाढीबाट नेपालतर्फ रसुवाको भोटेकोशी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने चीनतर्फ पनि क्षति भएको विवरण सार्वजनिक भएका छन् ।
दूतावासले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘आरोपले केही समाधान गर्दैन, सहकार्यले जीवन बचाउँछ ।’



















