
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि भोटेकोशी र त्रिशूली नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीको बहाव पनि हाल सतर्कता तहभन्दा तल छ । महाशाखाका अनुसार आगामी तीन दिन देशका केही प्रमुख नदीमा जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना छ ।
बिहीबारदेखि शनिबारसम्म सुनकोशी, नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी र भेरी नदीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । यसैगरी, सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, कर्णाली, पश्चिम सेती, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा भने जलसतह सामान्य रूपमा बढ्ने अनुमान गरिएको छ ।
बिहीबार देशका विभिन्न जिल्लामा रहेका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ र कास्कीमा साना नदीमा बाढीको जोखिम रहेको छ ।
त्यस्तै, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेत तथा आसपासका जिल्लाबाट बग्ने साना नदीमा पनि बहाव बढ्ने अनुमान गरिएको छ । विभिन्न क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार र शनिबार विशेषगरी गण्डकी र लुम्बिनी प्रदेश भएर बग्ने केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ । महाशाखाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र नदी तथा खोलाको आसपास अनावश्यक रूपमा नजान आग्रह गरेको छ ।

























