
काठमाडौं । रसुवा र नुवाकोटमा बाढीले ठूलो क्षति पुर्याएपछि सशस्त्र प्रहरी बलले खोज तथा उद्धारलाई तीव्र बनाएको छ । प्रभावित क्षेत्रमा भत्किएका संरचनाभित्र फसेकाको उद्धार तथा नदी तटीय क्षेत्रमा बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्रले विशेष तालिम प्राप्त ‘सीएसएसआर’ टोली परिचालन गरेको हो ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार सीएसएसआर टोलीलाई विशेषगरी भत्किएका संरचनाभित्र पसेर खोजी तथा उद्धार गर्न परिचालन गरिएको छ । यस्ता, टोलीले पर्खाल तथा फलाम काटेर संरचनाभित्र थुनिएका मानिसको उद्धार गर्न सक्छन् ।
काठमाडौंमा रहेको टोली बुधबार राति नै नुवाकोटतर्फ पठाइएको र त्यसले नदी तटीय क्षेत्रमा खोजी सुरु गरिसकेको सशस्त्र प्रहरीले जनाएको छ । रसुवामा पनि एउटा सीएसएसआर टोली हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ ।
सशस्त्रले भत्किएका संरचना खोज तथा उद्धारका लागि चारवटा टोली परिचालन गरेको छ । खोज तथा उद्धारमा गोताखोर, तालिमप्राप्त कुकुर र ड्रोनसमेत प्रयोग भइरहेको छ । बाढीका कारण हाइड्रोपावर तथा नदी किनारका संरचनामा फसेकाहरूको उद्धारलाई प्राथमिकता दिइएको छ ।
खोज तथा उद्धारको समन्वयका लागि सशस्त्र प्रहरी बल नम्बर–३ बाहिनीका प्रमुख डीआईजी किरण बस्नेत नुवाकोट पुगेका छन् । उनले नुवाकोटस्थित नम्बर–१९ गुल्ममा विपद् प्रतिकार्य बेस स्थापना गरी उद्धार तथा खोजी अभियानको समन्वय गरिरहेका छन् ।
सशस्त्र प्रहरीका अनुसार धुन्चे, रसुवागढी, नुवाकोट र चितवनमा विपद् प्रतिकार्य बेस बनाएर उद्धार अभियान सञ्चालन भइरहेको छ । शव व्यवस्थापनका लागि पनि छुट्टै टोली परिचालन गरिएको छ ।
हालसम्म सशस्त्र प्रहरीले १२ स्थानबाट ९८ वटा शव संकलन गरिएको जनाएको छ । बाढी प्रभावित क्षेत्रबाट ३० जना घाइतेसहित ७३ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।



















