
काठमाडौं । विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढीमा ज्यान गुमाउनेका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ । विपद्को यस घडीमा अमेरिका नेपालका साथमा रहेको पनि मन्त्रालयले जनाएको छ ।
अमेरिकाले घोषणा गरेको ५ लाख डलर अर्थात् करिब ६ करोड ६० लाख रुपैयाँभन्दा बढी रकम बाढी प्रभावित समुदायको तत्काल राहतका लागि प्रयोग गरिनेछ । उक्त रकम ‘क्याथोलिक रिलिफ सर्भिसेज’मार्फत आपत्कालीन आवास, राहत सामग्री, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोगमा खर्च गरिने जनाइएको छ ।
बाढीपछिको अवस्थाको अनुगमन तथा राहत र पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्याउन अमेरिकाले एक ‘विपद् प्रतिकार्य सल्लाहकार’ समेत प्रभावित क्षेत्रमा खटाउने भएको छ ।
यसैबीच, काठमाडौंस्थित अमेरिकी दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ । दूतावासले आफ्ना नागरिकलाई स्थानीय समाचार तथा अधिकारिक निर्देशन पालना गर्न र आपत्कालीन सूचनाका लागि ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’मा आबद्ध हुन आग्रह गरेको छ ।

























