
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज (बिहीबार) बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह सडकमार्ग हुँदै विदुरतर्फ गएका हुन् । उनीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठकमार्फत सम्बन्धित निकायलाई निर्देशन दिँदै आएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री साहले नुवाकोटको विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको अवस्था र भौतिक क्षतिको स्थलगत जानकारी लिनेछन् ।
त्यस क्रममा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग तत्काल राहत, पुनःस्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम छ । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तीव्रता दिन र क्षतिग्रस्त पूर्वाधार पुनःसञ्चालनका लागि आवश्यक कदम चाल्ने विषयमा समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिने बताइएको छ ।



















