भोटेकोशी बाढीपछि ६४४ पर्यटक तथा यात्रु बेपत्ता, ५१७ विदेशी नागरिक

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार १३:३२

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका ६४४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार बेपत्ता हुनेमा १२७ नेपाली र ५१७ विदेशी नागरिक छन् ।

बिहीबार दिउँसो १२ बजेसम्म ट्रेकिङ तथा ट्राभल कम्पनीहरूबाट प्राप्त विवरणअनुसार उनीहरूको अवस्था अझै यकिन हुन नसकेको बोर्डको भनाइ छ । प्राप्त विवरणलाई सम्बन्धित निकायसँग समन्वय गरी प्रमाणीकरण गर्ने काम भइरहेको जनाइएको छ ।

Advertisement

बेपत्ता हुने विदेशी नागरिकमध्ये भारतका १७८ जना छन् । अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानाडाका २५ र जर्मनीका ८ जना रहेको बोर्डले जनाएको छ।

यस्तै रुसका ८, लाटभियाका ६, दक्षिण अफ्रिकाका ६, जापान र न्युजिल्यान्डका ५–५ तथा फ्रान्सका ४ जना रहेको प्रारम्भिक विवरणमा उल्लेख छ । पर्यटक तथा यात्रुको अवस्थाबारे पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायले खोजी र प्रमाणीकरणको काम गरिरहेका छन् ।

बोर्डका अनुसार ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरेर प्राप्त विवरण ‘क्रस–चेक’ भइरहेको छ । त्यसैले सार्वजनिक गरिएको संख्या प्रारम्भिक भएको र थप विवरण आउन सक्ने बोर्डले जनाएको छ ।

बाढीबाट भोटेकोसी र त्रिशूली नदी आसपासका चार जिल्लाका नदी तटीय क्षेत्र गम्भीर रूपमा प्रभावित भएको बोर्डले जनाएको छ । अन्य क्षेत्र भने प्रभावित नभएको बोर्डले स्पष्ट पारेको छ । बाढीका कारण घाइते भएका तथा प्रभावित क्षेत्रमा फसेका व्यक्तिको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न सबै प्रयास भइरहेको बोर्डले जनाएको छ ।

बोर्डले प्रभावित क्षेत्रका पर्यटक तथा यात्रुलाई शान्त रहन, आधिकारिक सूचनामात्र लिन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ । पर्यटकको सुरक्षा पहिलो प्राथमिकता रहेको बोर्डले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×