
काठमाडौं । रसुवामा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, खोजी तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ । सरकारले प्राप्त हुने सहयोग रकम एकद्वार प्रणालीमार्फत संकलन गर्ने व्यवस्था गरेसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझ्न थालेका छन् ।
अर्थ मन्त्रालयका अनुसार पछिल्लो ६ घण्टामा विभिन्न कम्पनी तथा दाताबाट कोषका लागि २७ करोड ३३ लाख रुपैयाँ हस्तान्तरण भएको छ । बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रका विभिन्न कम्पनी तथा संघसंस्थाले कोषमा आर्थिक सहयोग गर्न थालेका हुन् ।
सरकारले कोषमा योगदान गर्ने दातृ कम्पनी तथा संघसंस्थाको विवरणसमेत सार्वजनिक गरेको छ। सहयोग रकमलाई प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा उद्धार, राहत तथा पुनःस्थापनाका काममा परिचालन गरिने जनाइएको छ ।

























