
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (शुक्रबार) विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको समेत सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
यस्तै, शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश र कोशीका तराई क्षेत्रमा केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।
भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार र राहत व्यवस्थापनमा समेत असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

























