
रसुवा । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको सकुशल उद्धार गरिएको छ ।
नेपाली सेनाको विपद् उद्धार टोलीले चुनौतीपूर्ण अवस्थाबीच सुरुङभित्र प्रवेश गरी उनीहरूलाई सुरक्षित बाहिर निकालेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुरुङभित्र अझै १०० जनाभन्दा बढी व्यक्ति फसेको अनुमान गरिएको छ । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली निरन्तर परिचालन भइरहेको छ ।
बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रमा सेनाले उद्धार अभियान जारी राखेको छ । सेनाका अनुसार बिहीबार मात्रै प्रभावित क्षेत्रबाट ८८३ जना स्थानीय तथा मजदुरलाई सुरक्षित स्थानमा सारिएको छ ।

























