
विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न कामको सिलसिलामा त्यहाँ पुगेका कोशी प्रदेशका नागरिकको अवस्था अज्ञात बनेको छ । बाढीपछि मोरङका १३ जना र सुनसरीका १५ जना गरी २८ जना सम्पर्कविहीन रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा प्रहरीले जनाएको छ ।
मोरङ जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र तथा जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार बाढी प्रभावित क्षेत्रमा कामका लागि पुगेका मोरङका १३ जना नागरिकसँग सम्पर्क हुन सकेको छैन । उनीहरू हाइड्रोपावर, व्यापार, अध्यागमन कार्यालय तथा सवारी मर्मतलगायतका क्षेत्रमा कार्यरत थिए ।
सम्पर्कविहीन हुनेमा विराटनगर महानगरपालिका–७ का शिवशंकर गुप्ता, विराटनगरकी पूजा आचार्य नेपाल र उनका ३ वर्षीय नाति, रंगेली नगरपालिका–६ बहुवान टोलका सुरज मण्डल, पथरीशनिश्चरे नगरपालिका–३ का रिचा निरौला, विराटनगर एयरपोर्ट मोडका सचिन गौतम, विराटनगर–१ का दुर्गाप्रसाद पोखरेल, सुन्दरहरैँचा नगरपालिकाको विराटचोकका सूर्यबहादुर कार्की, सुन्दरहरैँचा सलकपुरका भोजराज अधिकारी, लेटाङ–६ लामिटारका मेघा चेम्जोङ, सोना चेम्जोङ र देविमाया तामाङ, पासाङ तामाङ तथा विराटनगर–७ का सोमप्रसाद कटेल रहेका छन् ।
यसैबीच, बाढीमा परेका मोरङका दुई जनाको भने जीवितै उद्धार गरिएको छ । ३८ वर्षीय गजेन्द्र थापालाई उद्धार गरी नुवाकोटको विदुरस्थित नेपाली सेनाको क्याम्पमा राखिएको छ । प्रभु बैंक टिमुरे शाखाका प्रबन्धक विराटनगर निवासी रमनलाल श्रेष्ठलाई पनि उद्धार गरी शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रशासनले जनाएको छ ।
त्यस्तै, भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा तथा आसपासका क्षेत्रमा पुगेका सुनसरीका १५ जना पनि सम्पर्कविहीन भएका छन् । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा उनीहरू रसुवा, त्रिशूली हाइड्रोपावर, गोसाइँकुण्डलगायतका क्षेत्रमा पुगेका थिए ।
सुनसरी प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार दुहबी नगरपालिका–४ का सचिन गौतम, धरान उपमहानगरपालिकाका मुकेश नेपाल, रामधुनी नगरपालिका–३ का धिरज साह, भोक्राहा–नरसिंह गाउँपालिका–३ का श्यामनारायण साह, कोशी गाउँपालिका–९ की मीना बजगाईं, बराहक्षेत्र नगरपालिका–११ मधुवनका छविकेशर काफ्ले र मणिकरण राई, इटहरी उपमहानगरपालिका–१९ का प्रभाकर दंगाल, इनरुवा नगरपालिका–५ का पुष्पराज भट्टराई, रामधुनी नगरपालिका–३ का दिनेशकुमार चौधरी, बराहक्षेत्र नगरपालिका–७ का भुवनबहादुर श्रेष्ठ र रविना कुमारी धामी, इटहरी–२० का अमरबहादुर खड्का र मनमाया खड्का तथा बराहक्षेत्र–४ का मोहन माझी सम्पर्कविहीन रहेका छन् ।
प्रहरीका अनुसार यसअघि प्राप्त १९ जनाको विवरणमध्ये रामधुनी–५ का नवराज ढकाल, देवानन्दन यादव, रामधुनी–८ का जीवन सिंह र रामधुनी–५ का सञ्जित नारायण परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् । बाँकी १५ जनाको खोजी तथा उद्धार कार्य जारी छ ।
रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजीका लागि स्थानीय प्रशासन, प्रहरी तथा सुरक्षा निकायले समन्वय गरिरहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताए । मोरङ र सुनसरी प्रशासन तथा प्रहरीले आफन्तसँग सम्पर्क हुन नसकेका परिवारलाई सम्बन्धित प्रशासन तथा प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन् ।
बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा कोशी प्रदेशबाट कामको सिलसिलामा त्यहाँ पुगेका नागरिकको अवस्था अज्ञात बनेपछि उनीहरूका परिवारमा थप चिन्ता बढेको छ । बेपत्ता नागरिकको खोजी र उद्धारलाई तीव्र बनाउन परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

























