बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार ०७:०५

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।

काठमाडौं उपत्यकासहित कोशी र बागमती प्रदेशका विभिन्न सडक बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका हुन् । केही सडकमा यातायात सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाइएको छ भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

Advertisement

बाढीका कारण नागढुंगा–मुग्लिङ सडकखण्डमा यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । उक्त सडकमा २०८१ भदौ १० गते बिहान १० बजेदेखि बाटो बन्द गरिएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशको इलाममा पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित राजदुवाली क्षेत्रमा झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । गत वैशाख २३ गतेदेखि अवरुद्ध भएको उक्त सडकमा वैकल्पिक बाटो भने उपलब्ध रहेको जनाइएको छ ।

बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी र पहिरोका कारण सडक सञ्जाल प्रभावित भएको छ । काभ्रेमा खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनलाई रातिको समयमा सञ्चालनमा रोक लगाइएको छ ।

बीपी राजमार्गअन्तर्गत उक्त सडकखण्डमा जेठ २२ गतेबाट साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिने गरिएको छ ।

मकवानपुरमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण हेटौँडा–ठिंगन–बागमती–ललितपुर जोड्ने कान्तिलोकपथमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । असार २९ गतेबाट साँझ ५ बजेदेखि लागू हुने गरी बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो ।

रसुवामा बाढीका कारण सडकको अवस्था थप गम्भीर बनेको छ । उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । साउन ८ गते बिहान ८ बजेदेखि अवरुद्ध भएको उक्त सडक लामो समयसम्म सञ्चालनमा आउन सकेको छैन । रसुवाकै मुख्य राजमार्गहरू पनि साउन १० गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । भदौ १ गतेबाट राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

लगातारको वर्षाका कारण सडकमा बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले सम्बन्धित निकायले सडकको अवस्था हेरेर मात्र यात्रा गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । विशेषगरी रातिको समयमा पहिरो तथा बाढीको जोखिम बढी हुने भएकाले अवरुद्ध तथा जोखिमयुक्त सडकमा जबर्जस्ती यात्रा नगर्न आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×