बाढीपछि कहाँ छन् बैंकका २७ कर्मचारी ?

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार ०९:१०

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न बैंकका २७ कर्मचारी अझै सम्पर्कविहीन छन् । अवस्था अज्ञात रहेका उनीहरु अहिलेसम्म कहाँ छन् भन्ने पत्तो छैन ।

बुधबार बिहान आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि ती क्षेत्रका बैंकमा कार्यरत कर्मचारीसँग सम्पर्क स्थापित हुन नसकेको हो । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बिहीबार अबेरसम्म सातवटा बैंकका २७ कर्मचारी सम्पर्कमा आएका छैनन् । उनीहरू कहाँ छन् भन्ने यकिन जानकारी प्राप्त हुन नसकेको उनले बताए ।

Advertisement

‘हाम्रो तहबाट हुने प्रयास गरिरहेका छौँ । तर, पनि सम्पर्क हुन सकेको छैन,’ कोइरालाले भने, ‘बिहीबार अबेरसम्म सात बैंकका शाखामा कार्यरत २७ जना कर्मचारीसँग सम्पर्क हुन सकेको छैन ।’ सम्पर्कविहीन हुने कर्मचारीमध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका छन् । उक्त बैंकका ७ जना कर्मचारी सम्पर्कविहीन छन् ।

माछापुच्छ्रे बैंकका ५ जना, सानिमा बैंकका २ जना, लक्ष्मी सनराइज बैंकका ३ जना, हिमालयन बैंकका १ जना, एनएमबी बैंकका ४ जना र प्रभु बैंकका ५ जना कर्मचारीको अवस्था पनि अज्ञात रहेको जानकारी कोइरालाले दिए । बाढीका कारण विभिन्न बैंकका नौवटा शाखा कार्यालयमा पूर्ण क्षति पुगेको प्रारम्भिक जानकारी छ ।

तीमध्ये टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा रहेका शाखा कार्यालयहरूमा ठूलो क्षति पुगेको बताइएको छ । सम्पर्कविहीन कर्मचारीहरू पनि मुख्यतः यही क्षेत्रका शाखामा कार्यरत थिए ।

बैंकका शाखा कार्यालयहरूमा भएको क्षतिको यकिन विवरणसमेत तत्काल निकाल्न सक्ने अवस्था छैन । बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गर्न नसक्दा भौतिक तथा वित्तीय क्षतिको प्रारम्भिक मूल्यांकनसमेत हुन नसकेको बैंकर्स एसोसिएसनले जनाएको छ ।

कोइरालाका अनुसार कुन शाखामा लकर थियो, भल्टमा कति रकम थियो, कागजात तथा अन्य सामग्रीमा कति क्षति भयो र कति सामान बाढीले बगायो भन्ने विवरणसमेत संकलन हुन बाँकी छ । ‘भौतिक क्षतिको विवरण निकाल्नै सकिएको छैन । बिहीबार पनि क्षतिको विवरण संकलन गर्ने प्रयास भयो । तर, सम्भव भएन,’ उनले भने, ‘सबै बैंकबाट विवरण मागिएको छ । अहिले प्रमाणीकरण गर्ने काम भइरहेको छ ।’

बाढीले बैंकका कार्यालय तथा संरचनामा क्षति पुर्‍याएसँगै त्यहाँ कार्यरत कर्मचारीको अवस्थाका बारेमा पनि गम्भीर चिन्ता बढेको छ । उद्धार तथा खोजी प्रयास भइरहे पनि २७ कर्मचारीसँग सम्पर्क स्थापित हुन नसक्दा उनीहरूको अवस्थाका बारेमा अन्योल कायमै छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×