
काठमाडौं । चीनका राष्ट्रपति सि जिनपिङले बाढी र पहिरोपछि बनेको नयाँ अवरोध ताल (ब्यारियर लेक) तथा आसपासका हिमाली क्षेत्रको स्थिरतामा विशेष निगरानी राख्न निर्देशन दिएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को राजनीतिक ब्यूरोको शुक्रबार बसेको बैठकमा राष्ट्रपति सीले उद्धार तथा राहत कार्यलाई तीव्र, व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । बैठकले पहिरोका कारण बनेको ताल र आसपासका पहाडको स्थिरतालाई नजिकबाट निगरानी गर्न तथा थप विपद् हुन नदिन आवश्यक सुरक्षा उपाय कडाइका साथ अपनाउन जोड दिएको छ ।
बुधबार आएको ठूलो बाढीपछि बनेको उक्त अवरोध तालमा पानी बाँध नाघेर बग्न थालेपछि थप पहिरो तथा बाढीको जोखिम बढेको छ । यसले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यसमेत थप चुनौतीपूर्ण बनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
बैठकले केरुङ तथा ग्यिरोङ सीमाक्षेत्रमा भएको प्राकृतिक विपत्तिबाट प्रभावित नेपाललाई समेत आपत्कालीन सहायता उपलब्ध गराउने र अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ । बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि वैज्ञानिक योजना बनाएर सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय गर्न पनि निर्देशन दिइएको छ ।
बैठकको सुरुवातमा राष्ट्रपति सी, केन्द्रीय सैन्य आयोगका अध्यक्ष तथा अन्य वरिष्ठ नेताहरूले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए । सिन्ह्वाका अनुसार सीपीसीको केन्द्रीय समितिको नेतृत्वमा आपत्कालीन उद्धार कार्य अघि बढाइएको छ भने प्रभावित मानिसहरूको पुनर्स्थापना र विपत्तिपछिको व्यवस्थापनका लागि पनि प्रयास भइरहेको छ ।
बैठकले विपत्ति अत्यधिक चिसो हिमाली क्षेत्र, भिराला उपत्यका, परिवर्तनशील मौसम तथा धेरै हिमनदी र हिमताल रहेको संवेदनशील भूगोलमा भएको जनाएको छ । सम्भावित भौगर्भिक जोखिमका कारण उद्धार तथा राहत कार्य निकै कठिन बनेको पनि बैठकमा उल्लेख गरिएको छ ।
चीनले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार तिब्बततर्फ तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन् । त्यस्तै, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालतर्फ १०० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता रहेको बताएका छन् ।
बुधबार नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट नेपालतर्फ हालसम्म ४९० जनाभन्दा बढीको मृत्यु पुष्टि भएको भएको छ ।

























