
काठमाडौं । भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या हालसम्म ५ सय ४७ पुगेको छ । नेपाल प्रहरीका अनुसार बुधबारको बाढीका कारण ज्यान गुमाएकामध्ये हालसम्म ५ सय ४७ शव फेला परेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १ सय ३४, नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी २ सय २१ शव चितवनमा भेटिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि अझै ९ सय ७७ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना छन् । त्यस्तै, रसुवाबाट १ सय ६१, मकवानपुरबाट ६६ र नुवाकोटबाट एक जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।
बाढीमा ५ सय १७ जना विदेशी नागरिकसमेत सम्पर्कविहीन छन् । नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १ सय २७ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । बाढीबाट घाइते हुनेको संख्या ७३ पुगेको छ । घाइतेमध्ये रसुवाका ४३, धादिङका ३ र नुवाकोटका २७ जना रहेका छन् ।
खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल गरी १४ हजार ८ सय २९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यसमध्ये नेपाल प्रहरीका ४ हजार ४ सय ७३, नेपाली सेनाका ६ हजार ६ सय ९८ र सशस्त्र प्रहरी बल नेपालका ३ हजार ६ सय ५८ जना छन् ।
हालसम्म बाढी प्रभावित क्षेत्रबाट ३ हजार ७ सय ४२ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २५ जना विदेशी नागरिक रहेका छन् । नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरबाट समेत उद्धार तथा राहतका लागि गरी ७८ वटा हवाई उडान भएका छन् ।
बाढी प्रभावित जिल्लामा सरकारले तत्काल राहतका लागि नगदसमेत पठाएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने काम जारी छ । हालसम्म १० ट्रक राहत सामग्री पठाइएको छ । सामग्रीमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, कम्बललगायत खाद्य तथा गैरखाद्य सामग्री छन् । प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन सञ्चार सेटसमेत पठाइएको छ । हेलिकप्टरबाट चारवटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने थप २० ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा इन्धनको अवस्थासमेत व्यवस्थापन गरिएको छ । नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ । यस्तै, नुवाकोटमा ९ हजार लिटर हवाई इन्धनसमेत मौज्दात रहेको प्राधिकरणले जनाएको छ । थप इन्धन आवश्यक परे तत्काल पठाउने व्यवस्था मिलाइएको छ ।
प्राधिकरणका अनुसार सम्पर्कविहीन विदेशी नागरिक, विदेशमा बस्ने नेपाली नागरिक, उपचाररत व्यक्ति तथा हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिको विवरण प्राधिकरणको फेसबुक पेज र वेबसाइटमार्फत हेर्न सकिनेछ । प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणका आधारमा अद्यावधिक प्रतिवेदन तयार गरेको हो ।

























