
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यमा अन्तरराष्ट्रिय टोली नबोलाइएको विषयमा उठेका प्रश्न र टिप्पणीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको नभइ राष्ट्रिय क्षमता, तत्कालको आवश्यकता र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तय गरेको बताए । नेपालको भौगोलिक बनावट, विकट भू–भाग र स्थानीय वातावरणीय अवस्थासँग नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उद्धार टोली लामो समयदेखि अभ्यस्त रहेको उल्लेख गर्दै उनले सरकारले सुरुवाती चरणमा आफ्नै सुरक्षा संयन्त्रको अधिकतम परिचालनलाई प्राथमिकता दिएको बताए ।
अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने र अनपेक्षित जोखिम पनि सिर्जना हुन सक्ने भएकाले उपलब्ध राष्ट्रिय क्षमतामै उद्धार कार्य सञ्चालन गरिएको मन्त्री खनालले बताए ।
मन्त्री खनालले विपद् हुनेबित्तिकै हरेक मुलुकले विदेशी सहयोग नलिने भन्दै आफ्नो राष्ट्रिय क्षमताले धान्न सक्ने अवस्थासम्म आफ्नै संयन्त्रबाट काम गर्नु स्वाभाविक भएको बताए । नेपालको राष्ट्रिय संयन्त्र, संरचना र संस्थाले आफैँ गर्न सक्ने काममा आत्मविश्वासका साथ अघि बढ्ने सरकारको नीति रहेको उनको भनाइ छ ।

























