
इलाम । इलामको माईखोलामा एक्कासि लेदोसहितको बाढी आएको छ । मेची राजमार्गको राजदुवाली आसपास क्षेत्रमा वर्षा नभएको तर यस्तो बाढी आएपछि स्थानीय बासिन्दा अनेक अनुमान लगाइरहेका छन् ।
कतिपयले जिल्लाको माथिल्लो भेगमा कतै पहिरो गएर थुनिएको बाढी आएको हो कि भन्ने अनुमान पनि गरेका छन् । जिल्लाको उत्तरपूर्वी भेगमा ठूलो वर्षा भएका कारण स्वाभाविक रुपमा बाढी आएको त्यस क्षेत्रका बासिन्दाको भनाइ छ ।
माईखोलामा अरु बेलाजस्तै बाढी आए पनि कतै खोला थुनिएको भन्ने खबर सत्य नभएको इलाम नगरपालिका–२, सुम्बेकका वडाध्यक्ष गिरिराज रिजालले बताएका छन् । कतिपयले खोला थुनिएको भएर लेदो सहितको बाढी आएको भनेर चर्चा गरे पनि त्यस्तो नभएको उनको भनाइ छ ।
स्थानीय गोकुल अधिकारी रसुवा, नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशैभरि एकखाले त्रास फैलिएकाले कतिपयले ठूलै जोखिम पो हो कि भन्ने अनुमान लगाउनु स्वाभाविक भएको बताउँछन् । यसैबीच, उत्तरी क्षेत्रमा निरन्तर वर्षा भइरहे माईखोलामा पानीको सतह बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

























