
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय नजिक पुगेको छ । बाढीका कारण हालसम्म विभिन्न जिल्लाका नदी किनारबाट ५ सय ८६ वटा शव फेला परेका छन् ।
बाढीमा परी २ हजारभन्दा बढी मानिस अझै बेपत्ता छन् भने हजारौँ नागरिक विस्थापित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले बगाएका शव विभिन्न जिल्लाका नदी किनारबाट निकाल्ने क्रम जारी छ । भेटिएका कतिपय शव तथा मानव अंगको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।
सबैभन्दा धेरै चितवनस्थित नारायणी नदी किनारबाट २ सय ३३ वटा शव फेला परेका छन् । नवलपरासी पूर्व र पश्चिमबाट १ सय ५४, गोरखाबाट ४६, धादिङबाट ४०, नुवाकोटबाट ३७, तनहुँबाट ३०, रसुवाबाट १२ र नवलपरासीबाट २७ वटा शव फेला परेको विवरण छ ।
प्राधिकरणका अनुसार ५ सय १७ विदेशी नागरिकसहित १ हजार ९ सय २४ जनाभन्दा बढी मानिस अझै बेपत्ता छन् । बेपत्ता हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरीका १३, भन्सारका १५ र अध्यागमनका १५ जना छन् ।
त्यस्तै, जलविद्युत् आयोजनासँग सम्बन्धित ९ सय ३३ जना, आन्तरिक पर्यटक १ सय २७ जना र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि बेपत्ता रहेको विवरणमा उल्लेख छ । यसैबीच, चीनतर्फको सीमावर्ती क्षेत्रमा रहेको तालको जलस्तर र रङमा परिवर्तन देखिएपछि पानी बाहिरिन सक्ने भन्दै तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिम बढेको छ ।
सरकारले ठूलो बाढीको तत्काल खतरा नरहेको बताए पनि नदीको जलसतह अकस्मात् बढ्न सक्ने सम्भावना कायमै रहेको जनाएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नदीको जलसतहमा अचानक वृद्धि हुन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवा र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरेका छन् ।



















