
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीपछि त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि ८२ जना सुरक्षाकर्मी परिचालन भएका छन्।
सुरुङ क्षेत्रमा नेपाली सेनाका ६२ जनासहित सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८२ जनाको टोली उद्धारमा खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाको कमाण्डमा शुक्रबारदेखि नै सो क्षेत्रमा तीव्र रूपमा उद्धार कार्य जारी छ। शुक्रबार सुरुङभित्र फसेका १९१ जनालाई सकुशल उद्धार गरिएको थियो ।
यसैगरी आज (शनिबार) बिहान ८ बजेसम्म बाढी प्रभावित क्षेत्रबाट स्वदेशी तथा विदेशी गरी दुई हजार २६५ जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ । उनीहरूलाई रसुवाको टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ इलाकाबाट उद्धार गरिएको सेनाले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा सेनाका छ हजार ७ सयभन्दा बढी जनशक्ति खटिएर घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणको काम गरिरहेका छन् ।

























