बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार १३:०२

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै जाँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै चिकित्सकहरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

बाढीमा मृत्यु भएका मानिस तथा पशुचौपायाका शव कुहिन थालेपछि दुर्गन्धसँगै विभिन्न रोग फैलिन सक्ने भएकाले उद्धार तथा राहतसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकता दिन चिकित्सकहरूले सुझाव दिएका हुन् ।

Advertisement

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बाढीपछि दूषित पानी, असुरक्षित खानपान, फोहोरमैला र लामखुट्टेको वृद्धि हुँदा विभिन्न प्रकारका संक्रमण फैलिन सक्ने बताए ।

समय बित्दै जाँदा शवहरू कुहिने सम्भावना अत्यधिक रहने भएकाले जोखिम बढाउन सक्ने उनको भनाइ छ । यस्तै, दूषित पानी र असुरक्षित खानपानका कारण झाडापखाला, ज्वरोलगायत स्वास्थ्य समस्या देखिन सक्छन् ।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकमा आगामी दिनमा झाडापखाला, ज्वरोलगायत स्वास्थ्य समस्या देखिन सक्ने भएकाले समयमै स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुपर्ने उनले बताए ।

बाढीको पानीसँगै बगेको फोहोर तथा दूषित पानी वातावरणमा मिसिँदा ब्याक्टेरिया र भाइरसको सङ्क्रमण फैलिने जोखिम बढ्ने डा. पुनको भनाइ छ। विस्थापित परिवारलाई सुरक्षित खानेपानी र खानाको व्यवस्था गर्न चुनौती हुने भएकाले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने उनले बताए ।

बाढीमा घर, सम्पत्ति र आफन्त गुमाएका नागरिकलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गर्नु व्यवहारिक रूपमा कठिन भए पनि उपलब्ध स्रोतसाधनबाट सुरक्षित खानेपानी र सफा खानाको व्यवस्था गर्नु अत्यावश्यक रहेको डा. पुनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×