
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (आइतबार) पनि विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ । यसको प्रभावका कारण देशका अधिकांश भू–भागमा बदली रहने र विभिन्न स्थानमा वर्षा हुने अनुमान गरिएको छ ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ । गण्डकीका केही तथा बागमती र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । लुम्बिनीको पहाडी क्षेत्रका केही स्थानमा भने भारी वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि धेरै स्थानमा वर्षा हुन सक्नेछ । कोशी तथा मधेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ । बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनीका पहाडी र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
राति पनि मौसममा उल्लेख्य सुधार हुने देखिएको छैन । कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा राति वर्षा हुनसक्नेछ । सुदूरपश्चिमको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातको समयमा कोशीको पहाडी तथा तराई र बागमतीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान तथा कर्णालीको पहाडी र लुम्बिनी तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने विभागले जनाएको छ । यस्तो मौसमले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण, स्वास्थ्य तथा दैनिक जनजीवनमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न तथा सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
























