
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार आज (आइतबार) बिहान ९ बजेसम्म चितवनमा सबैभन्दा धेरै २५९ जनाको शव फेला परेको छ। यस्तै, गोरखामा ५८, धादिङमा ५०, नुवाकोटमा ५२, रसुवामा १३, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२ र तनहुँमा ३६ जनाको शव भेटिएको छ। चितवनमा विभिन्न मानव अंगसमेत फेला परेको प्राधिकरणले जनाएको छ।
बाढीमा परी हालसम्म २४२ जना घाइते भएका छन्। प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि सर्जिकल मेडिकल टोलीसमेत परिचालन गरिएको छ।
खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ।

























