सप्तकोशीमा बढ्दैछ बहाव, सतर्कता अपनाउन आग्रह

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १६:१०

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि सुनसरी प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतबार दिउँसो २ बजेसम्म सप्तकोशीमा पानीको बहाव १ लाख ६१ हजारभन बढी क्यूसेक मापन गरिएको छ । बहाव बढेपछि कोशी ब्यारेजका १८ वटा ढोका खोलिएको छ ।

Advertisement

सप्तकोशीमा १ लाख ५० हजार क्यूसेकसम्मको बहाव सामान्य हो । बहाव २ लाख क्यूसेकभन्दा माथि पुगेपछि खतराको संकेत मानिन्छ । आइतबार दिउँसो १२ बजे नदीमा १ लाख ५२ हजार ६ सय ६० क्यूसेक पानीको बहाव मापन भएको थियो । त्यतिबेला कोशी ब्यारेजका १७ वटा ढोका खोलिएका थिए । त्यसपछि बहाव बढ्दै गएपछि थप एउटा ढोका खुला गरिएको हो ।

सप्तकोशीका सहायक नदीमध्ये सुनकोशीमा पछिल्लो समय सबैभन्दा बढी बहाव बढेको जनाइएको छ । सुनकोशीको बहाव करिब डेढ मिटर बढेको जानकारी प्राप्त भएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

उनका अनुसार पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलामा पानीको सतह बढ्ने क्रम जारी छ । विशेषगरी खहरे खोलामा बाढी आउन थालेपछि चतरा पुलबाट धार्मिक तीर्थस्थल वराहक्षेत्रतर्फको आवागमनसमेत रोकिएको छ । चतरा–वराहक्षेत्र सडकखण्डमा सवारीसाधन तथा मानवीय आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार पनि चतरा–वराहक्षेत्र सडकखण्डमा पहिरो गएको थियो । खहरे खोलामा आएको बाढीले एउटा मोटरसाइकल बगाएको थियो । बाढीले बगाएको मोटरसाइकल केही तल पुर्‍याएपछि बाहिर निकालिएको जानकारी डीएसपी खड्काले दिए ।

पानीको बहाव बढिरहेको र पहाडी क्षेत्रमा वर्षा जारी रहेकाले नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक सूचना जारी गर्दै बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो ।

प्रहरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेजस्ता जोखिमपूर्ण गतिविधि नगर्नसमेत आग्रह गरेको छ । नदीको बहाव बढिरहेका बेला अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान र सम्भावित जोखिमबाट जोगिन प्रहरीले अपिल गरेको हो ।

प्रहरीले नागरिकको सुरक्षा आफ्नो प्राथमिकता रहेको भन्दै नदीको अवस्था थप जोखिमपूर्ण हुनसक्ने भएकाले स्थानीयलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×