
काठमाडौं । भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या नौ सय नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ९०३ जनाको शव फेला परिसकेको छ ।
शव भेटिने क्रम चलिरहेको र धेरै जना सम्पर्कविहीन रहेका कारण मृतकको संख्या अझै बढ्न सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् ।
चितवनमा २७२ शव फेला परेका छन् । त्यस्तै नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ वटा शव फेला परेको प्राधिकरणले जनाएको छ ।
विपद्का घटनामा परेर ४२ सयभन्दा बढी सम्पर्कविहीन बनेका छन् । ४ हजार २४७ जना सम्पर्कविहीन रहेका हुन् । सम्पर्कविहीन हुनेमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना छन् ।
त्यस्तै, नुवाकोटबाट १ हजार ५५८, रसुवाबाट ८६५ र मकवानपुरबाट ६५ जना सम्पर्कविहीन छन् । विभिन्न जलविद्युत् आयोजनाका ९३३, विदेशी नागरिक ५९२ र विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीनको सूचीमा छन् ।
बाढी तथा विपद्का घटनामा परी हालसम्म २६७ जना घाइते भएका छन् । तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रभावित क्षेत्रमा उपचारका लागि ६ वटा स्वास्थ्य टोली परिचालन गरिएको छ ।
हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै विदेशी २५२ जना र नेपाली ३ हजार ३४४ जनाको उद्धार गरेको छ । आइतबार जलविद्युत् आयोजनाबाट १५ जना चिनियाँ र ७ जना भारतीय नागरिकको समेत उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
हालसम्म उद्धार तथा राहतका लागि ४११ पटक हवाइ उडान गरिएको छ । सोमबार बिहान मात्रै १७ वटा उडान भएको विवरणमा उल्लेख छ ।
विपद् प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार हालसम्म २० हजार ८१९ सुरक्षाकर्मी परिचालन भएका छन् । यसमध्ये नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना रहेका छन् ।


























