
धनुषा । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि मधेस प्रदेशका आठ जिल्लाका १५१ जना अझै सम्पर्कविहीन छन् । आफन्तको अवस्थाबारे जानकारी नआएपछि परिवारका सदस्यहरू चिन्ता र अनिश्चिततामा छन् ।
धनुषाको कमला नगरपालिका–६ सखुवा मडानकी पूजा साह सिंहका श्रीमान् अजय सिंह पनि बाढीपछि सम्पर्कविहीन छन् । रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत अजय बाढी आउनुअघिसम्म नियमित रूपमा परिवारको सम्पर्कमा थिए। तर, बाढी आएपछि उनको मोबाइल बन्द छ ।
पूजा दिनरात श्रीमान्को खबरको प्रतीक्षामा छिन्। अपरिचित नम्बरबाट फोन आउँदा केही जानकारी आएको हो कि भन्ने आशा लाग्ने गरेको उनी बताउँछिन् । तर, फोनमा श्रीमान्को आवाज नसुनेपछि उनको चिन्ता झन् बढ्ने गरेको छ ।
‘एक पटक उहाँको आवाज मात्रै सुन्न पाए पनि हुन्थ्यो। उहाँ सुरक्षित हुनुहुन्छ भन्ने खबर मात्रै पाए पनि मेरो मन शान्त हुन्थ्यो,’ पूजा भन्छिन् । अजयको अवस्थाबारे जानकारी लिन परिवारले प्रहरी, प्रशासन तथा उद्धारमा खटिएका निकायसँग सम्पर्क गरिरहेको छ । सामाजिक सञ्जालमार्फत पनि उनले सम्पर्कविहीनहरूको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेकी छन् ।
रसुवाको बाढीपछि अजयजस्तै जलविद्युत् आयोजना तथा अन्य क्षेत्रमा काम गर्ने धेरै व्यक्ति सम्पर्कविहीन छन् । उनीहरूका परिवार आफन्तको अवस्था बुझ्न प्रहरी, प्रशासन, अस्पताल तथा उद्धारमा खटिएका निकायसम्म पुगिरहेका छन् । बाढीका कारण सडक, पुल तथा सञ्चार संरचनामा क्षति पुगेकाले प्रभावित क्षेत्रमा सम्पर्क तथा आवतजावत कठिन भएको छ। यसले सम्पर्कविहीन व्यक्तिको यकिन विवरण संकलन तथा खोजी कार्यमा समेत चुनौती थपेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार बाढी तथा पहिरोपछि प्रदेशका आठ जिल्लाबाट प्रारम्भिक रूपमा १७४ जना सम्पर्कविहीन भएको विवरण आएको थियो । शनिबार बिहानसम्म २३ जना आफन्तको सम्पर्कमा आएपछि १५१ जना अझै सम्पर्कविहीन छन् । प्रहरी वरिष्ठ उपरीक्षक तथा कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार सप्तरीमा सबैभन्दा बढी ४७ जना सम्पर्कविहीन छन् । जिल्लामा प्रारम्भिक रूपमा ४८ जना सम्पर्कविहीन भएकामा एक जना सम्पर्कमा आएका हुन् ।
पर्सामा ३९ जना सम्पर्कविहीन भएकामा तीन जना सम्पर्कमा आएपछि ३६ जना अझै सम्पर्कविहीन छन्। बारामा २३ जनामध्ये तीन जना सम्पर्कमा आएपछि २० जना सम्पर्कविहीन छन् । रौतहटमा १७ जनामध्ये छ जना सम्पर्कमा आएपछि ११ जना, सर्लाहीमा १५ जनामध्ये तीन जना सम्पर्कमा आएपछि १२ जना र महोत्तरीमा १७ जनामध्ये दुई जना सम्पर्कमा आएपछि १५ जना अझै सम्पर्कविहीन छन् । धनुषामा पाँच जना सम्पर्कविहीन भएकामा चार जना सम्पर्कमा आएका छन् भने एक जना अझै सम्पर्कविहीन छन् । सिरहामा १० जनामध्ये एक जना सम्पर्कमा आएपछि नौ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध रहेकाले सम्पर्कविहीनको विवरण यकिन गर्न कठिनाइ भइरहेको छ । सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

























